विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरुदेखि नै कोरोना भाइरसविरुद्ध लड्न मास्क नै पहिलो उपाय भएको बताउँदै आइरहेको छ । विश्वमा कोरोना भाइरसको पहिलो तथा दोस्रो लहर तीव्रताका साथ बढ्दा डब्लुएचओले सबै देशमा मास्क अनिवार्य हुनुपर्नेमा निकै जोड गरेको थियो । कोरोना संक्रमित संख्या कम भएसँगै धेरैजसो देशले मास्क अनिवार्य नियम हटाएका छन् । अहिले ती देश आफ्नो पूर्ववत् निर्णयमा पुनर्विचार गर्न बाध्य भएका छन् । केही महिनायतादेखि इजरायल, जर्मनी तथा अस्टे«लियाले अनिवार्य मास्क निर्णय हटाएका थिए । तर, यो निर्णय लिएको केही दिनभित्रै ती देशमा कोरोना संक्रमित संख्या ७० प्रतिशत बढेको छ ।
इजरायलमा दश दिनपछि नै मास्क अनिवार्य
इजरायलमा २३ सेप्टेम्बर २०२० मा कोरोनाको पहिलो लहर आएको थियो । पहिलो लहरमा ११ हजार तीन सय १६ जना संक्रमित भए । २० जनवरीमा इजरायलले कोरोनाको दोस्रो लहर सामना गर्यो । यो समयमा एकैदिन १० हजार दुई सय १३ जना संक्रमित भएको रेकर्ड दर्ता भयो । १९ डिसेम्बर २०२० मा इजरायलले कोरोनाविरुद्धको खोप अभियान सुरु गर्यो । भ्याक्सिन कार्यक्रम अगाडि बढ्दै जाँदा इजरायलमा संक्रमित संख्या पनि घट्दै गयो । मे महिनामा इजरायलमा मास्क अनिवार्य हटाइयो । तर, यसको दश दिनपछि नै इजरायलमा संक्रमित संख्या पुनः बढ्न थाल्यो । यससँगै सरकारले फेरि मास्क अनिवार्य नियम लागू गरेको छ । कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म नागरिकलाई मास्क अनिवार्य भनिएको छ । मास्कविना बाहिर निस्कँदा जरिवाना हुने नियम छ ।
४७ प्रतिशत जर्मन नागरिक मास्ककै पक्षमा
जर्मनीमा १८ डिसेम्बर २०२० मा कोरोनाको पहिलो लहर चल्यो । एक दिनमै ३१ हजार पाँच सय ५३ जना संक्रमित भए । त्यसपछि १४ अप्रिल २०२१ मा जर्मनीले दोस्रो लहरको सामना गर्यो । दोस्रो लहरका क्रममा जर्मनीमा एकै दिन ३२ हजार पाँच सय ४६ जना संक्रमित भए । जर्मनीले २७ डिसेम्बर २०२० देखि भ्याक्सिन सुरु गरेको हो । जर्मनीमा भएको एक सर्वेक्षणमा ४४.७ प्रतिशत जनताले जीवनभरि नै मास्क लगाउने पक्षमा मत राखेका छन् । ४१.९ प्रतिशत जर्मन नागरिक विश्वबाट कोरोनाको महामारी समाप्त भएपछि मात्र मास्क नलगाउने पक्षमा छन् । ६५ वर्ष उमेरमाथिकाले मास्कलाई जीवनकै एक हिस्साका रूपमा लिएका छन् ।
फिजीमा मास्क नलगाउने दण्डित
तीन सय ३३ टापु मिलेर बनेको फिजीमा २० मार्च २०२० मा पहिलोपटक कोरोना संक्रमित केस भेटिएको थियो । फिजीले कोरोना नियन्त्रण गर्न अभियान नै चलायो । पछिल्लो डाटाअनुसार फिजीमा तीन हजार आठ सय ३२ जना संक्रमित छन् । यहाँ कोरोनाका कारण १७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा दुई सय ४१ जना संक्रमित थप भएका छन् । फिजीले कोरोना महामारीका रूपमा फैलन नदिन अति नै कडा नियम बनाएको छ । फिजी सरकारले मास्क अनिवार्य नै भनेको छ । यदि कसैले यो नियम तोडे जरिवाना तिर्नुपर्ने हुन्छ ।
अस्ट्रेलियामा फेरि अनिवार्य मास्क
अस्ट्रेलियामा २२ मार्च २०२० मा कोरोनाको पहिलो लहर देखियो । त्यसवेला एक दिनमै पाँच सय ३७ जना संक्रमित भए । २२ फेब्रुअरी २०२१ देखि भ्याक्सिन अभियान सुरु भयो । भ्याक्सिन अभियान सुरु भएपछि बिस्तारै मास्क अनिवार्य हट्दै गएको थियो । मास्क अनिवार्य नियम हटाएको केही दिनपछि नै अस्ट्रेलियामा कोरोना संक्रमित दर बढ्यो । यस कारण अस्ट्रेलियामा फेरि मास्क अनिवार्य गरिएको छ ।
