काठमाडौं। कार्यकाल सकिन नौ महिना बाँकी छँदा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तुलसीराम गौतम बाहिरिएका छन्।
उनले आइतबार साँझ बैंक सञ्चालक समितिलाई राजीनामा बुझाएका हुन्। गौतमलाई बैंकले चार वर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो।
सञ्चालक समितिसँगको लफडाले उनले बीचमै बैंक छाडेका हुन्। स्रोतका अनुसार, उनलाई सञ्चालक समितिले केही व्यवसायिक लक्ष्यहरु दिएको थियो। ती लक्ष्यहरु हासिल भएका थिएनन्। गौतमले कोभिडका कारण लक्ष्यमा पुग्न नसकेको बताउँदै आएका थिए।
बिजमाण्डूसँगको कुराकानीमा गौतमले ‘कति जागिर खानु भन्ने लागेर छाडेको’ बताए।
गौतम माछापुच्छ्रे बैंकको पनि प्रमुख कार्यकारी भएका थिए। त्यहाँबाट बाहिरिएपछि डेढ वर्ष उनी खाली थिए। त्यसपछि सेञ्चुरी आएका थिए।
अर्थशास्त्रमा स्नातक गौतमले मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन्। उनीसँग १० वर्ष नेपाल एसबीआइ बैंकमा काम गरेको अनुभव छ।
बैंकिङ क्षेत्रमा उनको पुगनपुग ४० वर्षको अनु्भव भइसकेको छ। सुरुमा उनले नेपाल बैंकबाट सेवा सुरु गरेका थिए। त्यसपछि तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबीआइ गएका थिए।
एसबीआइबाट माछापुच्छ्रे बैंक गएका थिए। उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए।
