बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्री हिजो देखि खुल्ला रहेको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा धेरै आवेदन परेको थियो।
सिडिएससी बाट प्राप्त जानकारी अनुसार दोश्रो दिनको साझ ५ बजे सम्ममा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकले १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा १९.०२ गुणा बढी हो। यस अनुसार ७४ हजार ४ सय जना आवेदकले १० कित्ताको दरले पाउने भएका छन्।
कम्पनीको आयोजना स्थल नुवाकोट जिल्लाका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्याएको आफ्नो जारी पूंजी रु.४० करोड मध्ये ३०% अर्थात रु.१२ करोड रकम बराबर प्रति शेयर रु.१०० अंकित मुल्यको १२ लाख कित्ता साधारण शेयर मध्ये १०% अर्थात ४ लाख कित्ता शेयर नुवाकोट जिल्लाका स्थानीय बासिन्दाको लागि निष्काशन गरिएको र बाँकी रहेको २०% अर्थात ८ लाख कित्ता शेयर मध्ये ५% अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्टाईएको तथा २% अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ४४ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सिभिल क्यापिटल मर्केट लिमिटेडलाई नियुक्त गरेको छ।
निष्काशन मिति २०७८ असोज १४ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ।
