निराज रानाभाट , चितवन : चितवन जिल्लाको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरुलाई मासिक रूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ । कालिका नगरपालिकाले पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कालिका नगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपक भण्डारीले चालु आर्थिक वर्षमा नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि भनेर रु.२ लाख विनियोजन गरेको जानकारी दिए । “ मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरुलाई मासिक रूपमा आर्थिक सहायता दिने निर्णय भएअनुसार नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो ”, भण्डारीले भने , “ मिर्गौला प्रत्यारोपण गर्नुभएका नगरवासीको लगत सङ्कलनको काम भइरहेको छ , सबैको तथ्याङ्क आएपछि माघको अन्तिमदेखि आर्थिक सहायता वितरण शुरु गर्छौँ । ”
हालसम्म मिर्गौला प्रत्यारोपण गरेका ३ जना बिरामी मात्रै सम्पर्कमा आएका उल्लेख गर्दै जनस्वास्थ्य अधिकृत भण्डारीले उनीहरुलाई औषधि खाने खर्च स्वरुप आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताए । मिर्गौला प्रत्यारोपण गरेका बिरामीले मासिक सेवन गर्ने औषधि र जम्मा पीडितलाई पुग्ने रकमको अनुपातमा जुन रकम कम हुन्छ सोही रकम आर्थिक सहायतास्वरुप प्रदान गरिने उनले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि सहायता उपलब्ध गराउने विषयमा कार्य विधि निर्माण भइरहेको जनाउँदै भण्डारीले बिरामीको सङ्ख्या यकिन भएपछि कार्य विधि निर्माण गरेर आर्थिक सहायता उपलब्ध गराइने बताए । यस वर्ष रकम कमी भएमा आगामी वर्षदेखि रकम बढाउँदै मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरुलाई मासिक रूपमा आर्थिक सहायता गरिने उनले जानकारी दिए ।
