स्याङ्जा : लायन्स क्लब अफ गण्डकी आँधिखोलाको पहलमा भीरकोट नगरपालिकामा अवस्थित पवित्र छायाँक्षेत्रधाम परिसरमा बस्ने जोगी , साधु सन्तहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ। छाँयाक्षेत्र मन्दिर परिसरमा बस्ने १० जना जोगी , साधु सन्तहरूलाई सिरक , ब्लाङ्केट , हाइनेक , ट्राउजर , म्याट , दाल , चामल , तरकारी वितरण गरिएको हो ।
भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाको आतिथ्यता र लायन्स क्लबका अध्यक्ष जीवन शर्मा अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ , लायन्सका सदस्यहरू र समाजसेवीहरूको समेत विशेष उपस्थिति रहेको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले पवित्र छायाँक्षेत्र धामका साधु सन्तहरूलाई जाडोमा न्यानो कपडा वितरण गरेर मानवीय सहयोग गरेकोमा लायन्स क्लबलाई विशेष धन्यवाद दिदै छायाँक्षेत्र धामको महत्त्व र गरिमालाई प्रचारप्रसार गरेर सहयोग गरिदिन आग्रह गरेका थिए । यसैगरी , प्रमुख अतिथि एवम् उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले लायन्स क्लबसँग जोडिएर मानवताको सेवामा समर्पित हुन पाएकोमा खुसी व्यक्त गरेका थिए । क्लबका अध्यक्ष जीवन शर्मा अर्यालले न्यानो कपडा तथा राहत वितरण कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले सहयोग गर्ने उद्योग वाणिज्य संघका पदाधिकारी , समाजसेवी र लगायत सम्पूर्ण महानुभावहरूलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
