तनहुँ । तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।
सोमबार दिउँसो तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना भएको हो । डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको थियो ।
दिउँसो १२ः०५ बजे भएको दुर्घटनामा घाइते भएका चालक र सहचालकलाई उपचारका लागि प्रदेश अस्पताल, दमौली पठाइएको थियो । उपचारका क्रममा धादिङको सिद्धलेख गाउँपालिका–६ निवासी करिब ३० वर्षीय चालक सञ्जीव मगरलाई दिउँसो १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा सोही ठाउँका २२ वर्षीय सहचालक प्रदीप वि.क. गम्भीर घाइते भएका छन् । उनको प्रदेश अस्पताल, दमौलीमा उपचार भइरहेको छ ।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
