निराज रानाभाट , भरतपुर , चितवन – वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवन पुगेका छन । कार्तिक १६ गते , मंगलबार , दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ ।
चितवनको भरतपुर महानगरपालिकास्थित १३२ / ११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका – ०१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँ जिल्लाको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
विद्युत आपूर्ति सुचारु गराउनका लागि प्राविधिकहरुले काम गरिरहेपनि ढिलाइ भएपछि घिसिङ आफैं कार्तिक १७ गते , बुधबार ( अाज ) मध्यान्ह भरतपुर पुगेका हुन । उनले समस्या बारे जानकारी लिएर सकेसम्म छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न छलफल र पहल गर्ने प्राधिकरणले बताएको छ ।
‘ तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछि काम छिटो गर्न प्राविधिकलाई हौसला होस् र परेका समस्याहरु फुकाउन सहज होस् भनेर उहाँ चितवन पुग्नु भएको हो ,’ घिसिङको सचिवालयका एक कर्मचारीले भने ।
घिसिङले भरतपुर पुगेलगत्तै समस्या समाधानका लागि सबस्टेसनमै पुगेर छलफल थालेका छन । तिहारको समय भएकाले विद्युत आपूर्ति घण्टौं रोकिने अवस्था आउनु दुःखद् भएपनि समाधानको लागि विज्ञ प्राविधिक टोलीले काम थालेकाले छिट्टै आपूर्ति सुरु हुने प्राधिकरणले बताएको छ।
