निराज रानाभाट , चितवन : वाग्मती प्रदेशमा पर्ने चितवनमा सोमबार ( अाज ) स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको छ ।
लिभिङ विथ आइसिटीको आयोजनामा चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्ट ( सीएमटी ) मा स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको हो । कार्यक्रम दिउँसो १२:०० बजेदेखि शुरु भएको फेस्टमा वाग्मती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका आइडिया सहभागी भएका थिए ।
उक्त समयमा एक्सपेरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन र आइडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम ५ हजार भन्दा धेरैले अवलोकन गरेका छन् । आइडिया पिचिङ सेसनमा २५ बढी स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका छन् ।
प्रस्तुत गरेका आइडियामध्येबाट उत्कृष्ट ७ स्टार्टअप तथा आइडिया इन्क्युबेसनका लागि छनोट भएका छन् । छनोट हुने ७ स्टार्टअप तथा आइडियामा ई–मेड , कर्मदाता , नो ह्यासल ट्राभलर , नेपाल स्टिम एलायन्स प्रा.लि. , एकेडेमी अफ मेडिकल एन्ड इन्जिनियरिङ साइन्सेस , उबन्टु डीडीई र नलेज एक्सडेन्ज रहेका छन् ।
त्यस्तै , फेस्टबाट उत्कृष्ट स्टार्टअपका रुपमा नलेज एक्सचेन्ज प्रा.लि. छनोट भएको छ ।
